Monday, November 2, 2009

कोरियामा धरपकडले सिमा नाघ्दै गर्दा तोङदेमुन शहरमा हिंजो आईतबारको स्थिति

btulachan,Seoul Korea
आज आईतबार बिहान काम विशेषले म मेरो कोठा देखि ट्याक्सीबाट १० मिनेटमा पुगिने तोङदेमुन शहरको डांडा गांऊ नाकसान भिल्लेजमा बस्ने साठीहरू लगायत आफन्तहरुले डिनरको लागि बोलाउनु भएको थियो । बिगतमा तोङदेमुनको तीन नम्बर गेट सम्म पांच मिनेट बसको यात्रा पछि करिव १५ मिनेटको ठाडो उकालो हिंदाई पछि सजिलै पु्ग्न सकिने नाकसान डांडा सम्म ट्याक्सीमा जाने निधो गर्दै करिव १ बजे गन्तब्य स्थल पुगें । कोरियामा आई पुगेका नयां पुराना बिदेशीहरुको लागि केन्द्र बिन्दु मानिने राजधानी सउलको तोङदेमुन शहरको बाटो भएरै जानु पर्ने नाकसान डांडा सम्म पुग्दा बाटोमा खासै बिदेशीहरुको चहलपहल देखिएन , नत अध्यागमनको गाडी नै ।
गत महिनाको ५ तारिख देखि दैनिक जसो अध्यागमणको तलासीले बिदेशीहरुको चहलपहल घटेको सहजै अनुमान लगाउन सकिन्थ्यो । बिगतमा धरपकडलाई जतिसुकै तिब्र पारिएता पनि बिदाको दिनहरुमा प्राय: धरपकड नगर्ने गरेको मा यस बर्ष भने बिदाको दिनहरुमा समेत स्यालले कुखुरा कुरे झैं रातको १२ बजे सम्म पनि बाटो घाटोमा कुरि रहन्छ भन्छन मानव रुपी स्यालका जत्थाहरुको पन्जामा धन्नै नपरेका हाम्रा साथीभाईहरु । तोङदेमुन शहरमा रहेका गार्मेन्टस कम्पनीहरु ,नेपालीहरुको दर्जनौ पसल र रेष्टुरेण्ट ब्यबसायलाई आधार बनाएरै कोरियाली अध्यागमणले तोङदेमुन शहरलाई धरपकडको केन्द्र बिन्दु बनाउंदै आएको भएता पनि यसपालिको तिब्रताले प्राय: सबैलाई निराशै तुल्याएको छ ।
हिंजो म नाकसान डांडामा पुगेको केहि छिनमै ट्वार ट्वार फोन आयो अन्य साथीहरुको फोनमा । तोङदेमुनको ३ नं गेटमा चेकिङ छ भनेर । त्यस्तै एक डेढ घण्टा पछि पुन: फोन आयो , गईसक्यो भनेर । दिनको ४ बजे तिर तोङदेमुनकै एक रेष्टुरेण्टमा दर्जनौं नेपालीहरुको जमघट भई रहेको बेला तल अध्यागमणको गाडी देखिएको खबर आएपछि भागाभाग भएर कोहिं साथीहरु हामी भएको तिरै आई पुग्नु भयो । आज सोमबार प्राप्त जानाकारी अनुसार तोङदेमुन यरियामै रहेको मंगोल टाउनबाट दिनको ३ बजे करिव बीस जना मंगोलियनहरुलाई झ्याप पारेर पुन: नेपाली टाउन तिर आएको हुन सक्ने आशंका गरिएको छ । तर नेपाली रहने एरियाबाट भने समातिएको खबर छैन । राती करिव नौ बजे तिर डांडाबाट ओह्रालो झर्दै गर्दा उकालो लाग्दै गरेका अपांग संघका एक जना भाईले चेकिङ सकेर फर्कि सकेको जानाकारी दिएपछि हामी पनि निर्धक्क कोठामा आईपुग्न सक्यौं । जेहोस अहिले कोरियाली सरकारले धरपकडलाई हाल सम्मकै तिब्रता दिएको छ । अबैध भनिएका हामी बिदेशीहरुको लागि दैनिक जीबन कष्टकर र अति नाजुक बनिरहेको छ । कुन बेला, कुन दिन मानव शिकारीहरुको जत्थाले पन्जामा पार्ने हो कुनै यकिन छैन । नेपाली पसल र रेष्टुरेण्टहरु शुनसान प्राय: बनिरहेका छन । यदि यसरी नै यहांको सरकारले अन्तर्राष्टिय नियमलाई उलंघन गर्दै मानव अधिकार बिरुद्दको एकतर्फी नियमलाई निरन्तरता दिंदै गयो भने कोरियामा अब उप्रान्त हामी जस्ता अबैध भनिएका बिदेशीहरुको खैंरात के पो बांकि रहला र ? ।

No comments:

Post a Comment