Thursday, February 26, 2009

थकाली जातिको महान पर्व - तोरन्ल्ह - संक्षिप्त परिचय

प्रत्यक बर्ष फागु पुर्णिमाको दिनलाई बीचमा पारि तीन दिन सम्म थकाली जातीहरुले तोरन्ल्ह पर्व धुमधामका साथ मनाईन्छ । खासगरि तोरन्ल्हको अर्थ पितृ देवता हुन आउंछ । त्यसैले तोरन्ल्ह पर्वमा थकाली जातिहरुको आफ्ना स्वर्गिय पितृहरुको सम्झनामाभक्तिभावका साथ पूजाआजा गर्नाले रोग ब्याधी नलाग्ने र धनाध्य हुने भन्ने धारणा रहि आएको पाईन्छ । फागु पुर्णिमाको अघिल्लो दिनफलफूल, रोटी ,थरिथरिका मासु लगायत बिभिन्न किसिमका मिष्ठान्न खानेकुराहरुलाई सफा भांडामा सजाएर राखिन्छ । अखण्ड,दीप,धूप,फलफुल,सेलरोटी,जांड रक्सी आदि चौरासी ब्यन्जन जुराई राखिन्छ। र पहिलो दिनको मध्यरातको समयमा घर नजिकको धारा वा पंधेरामानुहाई चोखो पानी सहित उक्त चौरासी ब्यन्जन पितृदेवलाई चढाईन्छ । चोखो पानी लिएर आउंदा बाटोमा कसैसित बोल्नु हुंदैन र चौरासी ब्यन्जनपितृदेवलाई चढाउंदा पितृदेवको नाम बोलाई फलानो खानुस भन्नु पर्दछ । यो सबै बिधिलाई खिमी च्हयुची भनिन्छ । यहिं ने थकाली जातिको पिण्ड दिने तरिका हो । यस पर्वमा खेलिने खेल बिशेष उल्यख्यनिय छ। लोग्ने मानिसहरु तारो (सर) खेल्छन भने स्वास्नी मानिसहरु गोटा (ढुंगाको गोटी) खेल्छन। भद्र महिलाहरु आजभोली नाकाभोटे खेल खेल्छन र तरुणीहरु कौडी खेल खेल्ने गर्दछन । फागुको शुक्ल पक्षको तिथिपरेको भोलिपल्ट जुनसुकै बार भएपनि दिन हेरी सो दिनमा बाबु आमा भएका कुमार केटालाई चुनिन्छ । तारा थाप्नु भन्दा १ दिन अगाडि सबै तारा खेलाडीहरु संगै बसेर बाण तिखो पार्दछन। परंपरागत बिधि अनुसार कन्या केटाले तारोलाई ठाडो उभ्याउंछ र नौनीघ्युले तीन ठाऊंमा हेर लगाई सेतो, रातो ध्वजा धुपिको टुप्पामा बांढी तारोको शिरमा खेप चढाउंछन। र जांड रक्सी छे छे गरि आशिक दिन्छन । नाम जानेको देवतालाई पुकारीथरिथरिका तोरन्ल्ह गीत गाउंछन । शुरुमा ठाडो उभ्याईएको तारोमा कन्या केटाले सर हानी साईत उद्घाटन गर्छन। पर्वको मुख्य दिन पछि आफ्ना बिबाहित चेलीबेटीलाई ज्वांई सहित बोलाई मिठो चोखो खानेकुराहरु खुवाउंछन। पर्वको मुख्य दिनमा चेलीबेटी द्वारा माईती कहां रक्सी,रोटी, कुखुरा बत्ती बाल्ने तोरीको तेल लिएर आदरका साथ पुर्याउने गरिन्छ र माईतीबाट चेलीबेटी र ज्वांईहरुलाई नगद वा जिन्सी उपहार स्वरुप दिने चलन रहि आएको छ ।
साभार- थकाली समाज युकेको मुखपत्र -प्रयास- बाट

No comments:

Post a Comment